काठमाडौं, चैत ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका छन्।
वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ। तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ।
सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ। दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीतिनिर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन्।




