१६ असार, काठमाडौं,
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायमा गरेका २० जनाको नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार राष्ट्रपतिले गरेका संवैधानिक नियुक्तिहरुको बदर माग गर्दै रिट दायर गरेका हुन् ।
दायर गरिएको रिटमा भनिएको छ, "रिटको अन्तिम टुंगो नलागेसम्म निजहरुलाई आयोगहरुको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै कार्य नगराउनु भनि अन्तरिम आदेश समेतको माग गर्दछु । संविधानको धारा २९२ को संसदीय सुनवाईको बाध्यात्मक संवैधानिक बन्दोबस्तलाई छलेर गरिएको नियुक्ति स्वत: बदरभागी छ ।"
गत असार १० गते राष्ट्रपति भण्डारीले २० जनालाई विभिन्न आयोगहरुको अध्यक्ष, आयुक्त एवं सदस्यहरुमा नियुक्त गरेकी थिइन् । उक्त नियुक्तिहरु प्रथम दृष्टिमा नै गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले बदरको माग गरिएको छ ।




